• २५ बैशाख २०८२, बिहीबार

आधुनिक उपकरणबाट दुना टपरी बनाउने कार्य थालनी

बेलकोटगढी नगरपालिका वडा नम्बर १० स्थित मैदानटोलमा आधुनिक उपकरणबाट दुना टपरी बनाउने कार्य थालनी भएको छ ।

  स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउन बेलकोटगढी निरञ्जना महिला सञ्जालको स्वामित्वमा रहने गरी वडाद्धारा मेसिन खरिद गरिएको हो । परम्परागत शैलीबाट सालको पातबाट निर्माण गरिने दुना टपरीलाई बजारमा पाइने कागजका प्लेटहरुले बिस्थापित गराइरहेको अवस्था छ ।  त्यसैलाई मध्यनजर गर्दै महिलाहरुको आय स्तर वृद्धि गराउन वडाले दुना टपरी बनाउने उपकरण खरिद गरिएको वडा अध्यक्ष प्रल्हाद प्रसाद थपलियाले जानकारी दिनुभएको छ । उपकरण खरिद र संचालनको लागि वडा कार्यलयबाट बिनियोजित ५ लाख रुपैयाँबाट दुना टपरी बनाउने कार्य विहिवारबाट सुरुवात गरिएको वडा अध्यक्ष थपलियाले जानकारी दिनुभएको छ ।

  वडाबाट छुट्याइने लक्षित बर्गको बजेटलाई “महिला, दलित, जनजाति सिपमुलक आयआर्जन कार्यक्रम” मार्फत  कार्यान्वयनमा ल्याइएको सञ्जालकी अध्यक्ष गीता पाठकले बताउनुभएको छ । खेर जाने सालको पात र महिलाहरुको खाली समयको सदुपयोग गराएर उत्पादित दुना टपरी होलसेल मुल्यमा बिक्री गर्ने योजना बेलकोटगढी निरञ्जना महिला सञ्जालको रहेको छ । सालको पातसँगै कागजबाट पनि दुना टपरी बनाउन मिल्ने उपकरण प्राप्त भएकोले त्यसको प्रयोगलाई बढाउँदै बजार व्यवस्थापनमा लाग्ने अध्यक्ष पाठकको भनाई छ ।

  बेलकोटगढीकै नौलो कार्यक्रमको रुपमा रहेको आधुनिक उपकरणबाट दुना टपरी बनाउने कार्यलाई प्रोत्साहन गर्न नगरपालिका प्रतिबद्ध रहेको उपप्रमुख शिव दाहालले बताउनुभएको छ । उपकरण उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उहाँले उत्पादित दुना टापरीको बजार व्यवस्थापनमा नगरपालिकाले समन्वय गर्ने समेत उहाँले बताउनुभएको छ ।

  यस्तै कार्यपालिका सदस्य गमला लामाले महिलाहरु आर्थिक पक्षमा आत्मनिर्भर भएमा घरेलु हिंसा न्यूनिकरण हुने बताउनुभएको छ । महिला, दलित, जनजाति सिपमुलक आयआर्जन कार्यक्रम मार्फत सञ्चालनमा ल्याइएको दुना टपरी बनाउने उपकरणको प्रयोगबाट आर्थिक पक्ष सबल बनाउन सकिने अपेक्षा समेत गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्