नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ ।
दुवै मिर्गौला फेल भएर पीडित बन्नुभएका लामाको बुधबार बिहान करिब ३ बजे निधन भएको हो । काठमाडौंको अस्पतालबाट घर फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको ककनी गाउँपालिका उपाध्यक्ष मिठुमाया तामाङले पुष्टि गर्नुभयो । उहाँका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बेला सुगर र रक्तचाप नियन्त्रण हुन नसक्दा ढिलाइ भइरहेको थियो ।
ककनी गाउँ कार्यपालिका सदस्य लामा ककनी-२ को काउलेथानामा २०३५ साउन ४ गते जन्मिनुभएको थियो । २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा लामा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
ककनीमा आज शोक बिदा ककनी गाउँपालिकाले वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर लामाको निधनमा आज (बुधबार) शोक बिदा दिएको छ । बुधबार बसेको गाउँपालिकाको आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ कार्यापालिकाको कार्यालय, सबै वडा कार्यालय तथा कार्यालयअन्तर्गतका सबै स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा शोक बिदा दिइएको हो।