नुवाकोट, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेश आर्थिक सर्वक्षण २०७९–८० बागमती प्रदेशको प्रदेश सभामा पेस गरेका छन् ।
प्रदेश सभाको बिहीबार बसेको बैठकमा आर्थिक सर्वेक्षण २०७९–८० पेस गर्दै उनले प्रदेशको सामाजिक सूचकहरुमा क्रमशः सुधार आएको दावी गर्दै समग्रमा प्रदेशको आर्थिक परिसूचकमा केही प्रतिकूल रहेको भएता पनि सामाजिक सूचकमा क्रमशः सुधार आएको आर्थिक सर्वेक्षणमा भनिएको छ ।
आर्थिक सर्वेक्षणमा बागमती प्रदेशको कूल ग्राहस्थ्य उत्पादन वृद्धि १.८ प्रतिशत हुने अनुमान गरिएको छ । गत आव २०७८–७९ मा यस प्रदेशको कूल ग्राहस्थ्य उत्पादन वृद्धि ६.७० हुने अनुमान गरिएको थियो । देशको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
मन्त्री लामाले प्रदेश सरकारको सार्वजनिक आय र व्यय बढ्दै गएको भन्दै प्रदेशको खर्च क्षमता बढ्दैगएको बताए। यसैबीच प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट असार १ गते ल्याउने भएको छ ।
शुक्रबार दिउँसो ३ः०० बजे बैठक बस्नेगरी स्थगित गरिएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। असार १ गते मन्त्री तामाङले आर्थिक वर्ष २०८०–८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नेगरी प्रदेश सभा बैठकको सम्भावित कार्यसूची तय भएको बताए ।
प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने कार्यसूची बनाएको छ । साथै, मन्त्री तामाङले सोही बैठकमा बागमती प्रदेश सरकारको आव २०७९–८० को गत चैत मसान्तसम्मको प्रगति विवरण पेस गर्नु हुनेछ ।