
नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिकाले अत्याधुनिक सुविधा भएको एम्बुलेन्स खरिद गरेको छ । एम्बुलेन्स आर्थिक वर्ष २०९।०८० को बजेट बक्तव्यमा नै उल्लेख भए अनुसार खरिद गरिएको हो ।
गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम क्याटलक सपिड विधिबाट २०७९ ।१०। ५ गते बोलपत्र मार्फत आह्रवान गरेको थियो । फोर हूइल एम्बुलेन्सका लागि उक्त बोलपत्र अनुसार सम्झौता गरेको थियो । सम्झौता अनुसार एम्बुलेन्सका लागि अग्नि इन्कर्पोरेट प्रा .लि पानीपोखरीले घटाघट मुल्यमा टेन्डर पारेको थियो । सोही अनुसार उक्त कम्पनीले एम्बुलेन्स खरिद गरेर आज पालिकालाई बुझाएको छ ।
बागेश्वरी स्वास्थ्य चौकीका नाममा खरिद गरिएको एम्बुलेन्सलाई गाउँपालिकाले प्राविधिक इन्जिनियर मार्फत एम्बुलेन्सको सम्पूर्ण चेकजाँच गरेर बुझेको अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिनुभयो । उक्त एम्बुलेन्सका लागि पालिकाले २० लाख ८ हजारमा सम्झौता गरेको जनाइएको छ भने एम्बुलेन्सका लागि नेपाल सरकारबाट प्राप्त हुने सहुलियतका लागि पालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको थियो ।
सोही पत्रका आधारमा भन्सार छुटसहित एम्बुलेन्स खरिद गरिएको बताइएको छ । एम्बुलेन्स भित्र अक्सिजन प्लान्टसहित मुटुको धड्कन नाप्ने मेसिनसहितको सुविधा रहेको छ । पालिकाले अन्य सुविधाका थप गरेर स्वास्थ्य मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा गरि तत्काल एम्बुलेन्स सञ्चालन गर्ने जनाएको छ ।