नुवाकोट। तामाङ घेदुङ र मगर सङ्घले आदिवासी जनजाति तामाङ र मगरको संस्कारमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डे ‘शीतल’ र सोही विरुद्ध साउन १७ गते गरेको आन्दोलनमा प्रहरीको हस्तक्षेपविरुद्ध आज माइतीघरमा शान्तिपूर्ण आन्दोलन गरेका छन् ।
आन्दोलनमा अधिवक्ता पाण्डेमाथि कारबाही र प्रहरीको दमनप्रति आन्दोलनकारीहरूले कारबाहीको माग गर्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनकारीहरु मगर समुदायका अगुवाहरु र तामाङ समुदायका विभिन्न सङ्घ संस्थाका थिए। उनीहरुले प्लेकार्डमा ‘सांस्कृतिक अधिकारको सम्मान गर‚ यातनाकारी एसएसपी दानबहादुर कार्कीसहित यातनाकारी प्रहरीलाई कारबाही गर‚ विभेदकारी कानुन खारेज गर‚ जातीय हिंसा बन्द गर’ लगायतका प्लेकार्ड बोकेर र्याली माइतीघरबाट नयाँ बानेश्वरमा पुगेर कोणसभा गरेका थिए ।
साउन १७ मा पक्राउ परेका घाइतेहरूको निःशुल्क उपचारको लागि सरकारसँग माग गरेका छन् ।
आन्दोलनकारीहरुले दोषीलाई कारबाही गर्नुका साटो शान्तिपूर्ण रूपमा प्रहरी कार्यालय घेराउ गर्न पुगेका अभियन्ताहरू माथि नै प्रहरीबाट अन्धाधुन्ध अश्रु ग्यास प्रहार र लाठी चार्ज गरी निर्मम कुटपिट गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास गर्नु अत्यन्तै दुःखद र निन्दनीय रहेको बताएका छन।
यसै गरी आजै देशैभरका जिल्लाका घेदुङ र मगर सङ्घले शान्तिपूर्ण आन्दोलन गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका थिए।