• २९ माघ २०८१, मंगलवार

रसुवामा म्याद सकिएको सामग्री बेच्नेलाई दुई लाख जरिवाना

रसुवा- प्रदेश स्तरीय जिल्ला बजार अनुगमन समिती तथा अनुगमन निर्देशिका, २०८० (दफा ७) को उपदफा ४ सङ्ग सम्बन्धित अनुगमन कार्यक्रम जिल्ला प्रशासन कार्यालय रसुवाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

रसुवाको धेरै जसो ठाउँमा म्याद नाघेका खाद्यवस्तु , म्याद सकिएको खाद्य सामग्री बिक्री-वितरण हुन थालेपछि बजार अनुगमन समितिले व्यवसायीमाथि निगरानी साथ अनुगमन गर्न सुरु गरेको छ ।

धुन्चे बजार स्थित लक्ष्मी राम सप्लायर्सले म्याद गुर्जेको सामान बिक्री वितरण गरेको पाइएपछि बजार अनुगमन समितिले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । लक्ष्मीराम सप्लायर्सले साविक फर्मको पूँजी रू ३ लाख मात्र रहेकोले वर्तमान मुद्रास्फीति र पसलमा भएको सामग्रीहरुको मौज्दात बमोजिम फर्मको पुजि वृद्धि गर्न समेत निर्देशन दिइएको छ।

साथै उक्त अनुगमन कै क्रममा याङजेन् स्टोर रु ५ हजार,घले किराना पसल रु ५ हजार, गोसाइँकुण्ड किराना पसल रु ५ हजार, प्रतिमा किराना पसल- रु ५ हजार, रसुवा किराना पसल रु २० हजार र जियाशा कोल्ड स्टोरले रु १० हजार जरिवाना तिर्नु पर्ने निर्देशन दिएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगीको संयोजकत्वमा गोसाइँकुण्ड गाउँपालिका ६ धुन्चेमा रहेको खाद्यान्न तथा किराना पसलहरुमा गरिएको अनुगमनको क्रमममा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तपसिल बमोजिमका फर्महरुमा जरिवाना लगाई म्याद गुज्रिएका समान बरामद गरी नष्ट गरिएको छ । अनुगमन टोलीले बुधबार अनुगमन गर्दा उपभोग्य मिति सकिएका खाद्यान्न सामग्री र म्याद रहेको सामग्री एकै ठाउँमा राखेर बेचेको पाइएपछि जरिवाना गरेको हो । लिची जुस , चाउचाउ, स्याम्पु, बियर, चकलेट , अचार , चाउमिन , क्याचप, पेय पदार्थ अन्य विभिन्न म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । पसलमा मूल्यसूची नराखिएको, लेबलिङ नगरिएका सामान बेचेको पाइएको थियो

अनुगमन कै क्रममा उपभोक्तालाई असर गर्ने गरी उपभोक्ता हितविपरीतको कार्य गरेमा अवस्था हेरी तीन लाख रुपैयाँसम्म ठाउँको ठाउँ कारबाही गर्ने अधिकार अनगुमन समितिलाई रहेको छ । अनुगमन निरन्तर चलिरहने र नियम विपरीत चलाइका व्यवसायहरु कुनैलाई नछाडिने र विगतमा केवल धुन्चे स्थित मात्र अनुगमन हुने गुनासालाई पनि मध्य नजर गर्दै यस पटक भने सालको सुरूवात देखि नै अन्य स्थानहरू उत्तरगया, कालिका, टिमुरे, राम्चे, ग्राङ, चिलिमे (थाम्बुचेत), भार्खु साथै गोसाईकुण्ड पदमार्गहरूमा अनुगमन गर्दै धुन्चे बजारमा पनि अनुगमन गरिएको छ । आगामि दिनहरूमा अन्य स्थान नौकुण्डका गाउँपालिका विभिन्न क्षेत्रमा संचालित उद्योगहरु, स्याफ्रुवेशी, ठुलो स्याफ्रु, ठुलोगाउँ, डाडागाउँ साथै आम जनताहरूको गुनासा रहेका स्थानहरूमा पनि अनुगमन गरिनेछ साथै केवल किराना स्टोर मात्र नभई होटल व्यवसायी तथा अन्य क्षेत्रहरूमा पनि सिलसिलेवार रूपमा अनुगमन गरिने जिल्ला बजार अनुगमन समितिका सचिव एवं उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख वृहस्पति तामाङले जानकारी गराउनु भयो ।

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख वृहस्पति तामाङ् , कार्यलयका कर्मचारी, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखा पाल रविन्द्र घर्ती बुझेल जिल्ला प्रहरी कार्यालय , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय र पत्रकारहरुको उपस्थिति थियो ।





प्रतिक्रिया दिनुहोस्