नुवाकोट– विदुर नगरपालिकाले पहिलोपटक लिएको आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षामा ३९.३४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको छ । अन्य बाँकी प्रतिशतमा अनुत्तिर्ण भएका छन् भने उत्तिर्ण सङ्ख्या ४५२ जना रहेको जनाएको छ । २०७४ सालदेखि स्थानीय निकाय सञ्चालन भएतापनि नगरले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यस शैक्षिक वर्षदेखि सुरु गरेको हो ।
पालिकास्तरीय परीक्षामा सामुदायिक २८ र निजी १९ विद्यालयका एक हजार १४९ विद्यार्थीले सहभागिता जनाएको नगरपालिकाका निमित्त शिक्षा प्रमुख नवराज सापकोटाले जानकारी दिए । जसमा सामुदायिकतर्फ ७८५ र निजी ३६४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
गत परीक्षा चैत २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षा ११ केन्द्र तोकिएको थियो । ग्रेडवृद्धि प्रणालीमा परीक्षा तयार गरिएको थियो भने केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक तोकेको थियो ।
परीक्षाफल चित्त नबुझे दुई विषयसम्मको लागि नतिजा प्रकाशन भएको मितिले एक हप्तासम्म विद्यार्थी स्वयंले पुनःयोग गर्न पाउने छ । विद्यालयको सिफारिस पत्रसहित २०० रुपैंयाँ दस्तुर तिरी पुन:योग गर्न सकिने छ । ग्रेडवृद्धिको परीक्षा २०८१ वैशाख ६ गतेदेखि ७ गतेसम्म परीक्षा हुने नगरपालिकाले सूचना जारी गरेको छ ।