नुवाकोट- वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ । भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन ।
महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ । त्यति धेरै रकम खर्च भएपनि अझै कतिपय पुरातात्विक संरचना पनि अधुरै छन् । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसकेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो ।
७ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो ।
२२ हजार भन्दा घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।
भूकम्पले १४ जिल्लामा धेरै क्षति पुगेको थियो । भूकम्पका कारण करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।