जापान। देशमा पछिल्लो समय युवाहरुमा देशमा केहि गर्न सकिँदैन देशको आर्थिक व्यवस्था नराम्री बिग्रिसकेको छ भन्ने मौखिक भाष्य निर्माण भएको छ। स्वदेशमा नै उद्यम गर्ने वातावरण नभएको र स्वदेशको कमाइले मासिक खर्च धान्न पनि मुस्किल भएकोले युवाहरुमा नकारात्मक प्रभाव पर्नु स्वाभाविकै हो ।
देशको अस्थिर राजनीति,सुस्त गतिको भौतिक र आर्थिक विकास, मन्द अर्थतन्त्र लगायतले पछिल्लो समय युवामा देश प्रति नैराश्यता देखिएको छ ।
पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना हुन नसक्नु, राजनीतिक अस्थिरता र संक्रमण नटुंगिनुले देशको अवस्था बदलिने र सर्वसाधारण नागरिकको जीवनस्तर सुध्रने विश्वास हराउँदा यस्तो अवस्था आएको कुरालाई पनि हामीले नकार्न सक्दैनौं ।
देशमा सत्ताको लडाइँ छ, अर्थतन्त्र मन्दीमा छ, काम गरिखानेमा पनि चरम निराशा छ यस्तो बेलामा ठूलो श्रमशक्तिको पलायन अस्वभाविक भने होइन ।
सरकारको कमजोर नीतिका कारण देशमा अवसरको सदुपयोग गर्नुभन्दा शैक्षिक र भिजिट भिसाको बाटो भएर पनि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा देशको अर्थतन्त्रमा सहज स्थिति आउँने आँकलन गर्न कठिनाइ उत्पन्न भएको छ ।