रसुवा- गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा. अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षीय विपीन बर्तौला र पोखरा निवासी ६२ वर्षीय हरिबहादुर तिवारी छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।
गोसाइँकुण्डबाट फर्कंदै गर्दा मंगलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरू घाइते भएका थिए । जनैपूर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार ६९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमी आए पनि चारजनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पुर्याएका थिए । उद्वारका लागि ठाउँ–ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।