काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत बुधबार बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ ।
मन्त्रोच्चारण गरेपछि शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।
एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन्।