२४ वैशाख, काठमाडौं । भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि विभिन्न भारतीय एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गरेका छन् ।
यसका कारण धेरै उडानहरू रद्द भएका छन् र केही प्रभावित भएका छन् । एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले यात्रुहरूलाई सतर्क रहन आग्रह गर्दै सूचित गरेका छन् ।
उनीहरूले उत्तर भारतका केही क्षेत्रमा हवाई यातायातमा अस्थायी अवरोध आएको जानकारी दिएका छन् ।
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लेखेको छ, ‘वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जाने–आउने सबै उडानहरू रद्द गरेको छ।’ साथै, अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानलाई दिल्लीतर्फ डाइभर्ट गरिएको जानकारी पनि दिइएको छ ।
स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरलगायत उत्तर भारतका केही विमानस्थलहरू अर्को सूचनासम्म बन्द गरिएको जनाएको छ । त्यस्तै इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको जानकारी दिएको छ ।