नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाको वडा नं ५ नयाँ पुलमा रहेको चुनढुङ्गा खानी र स्थानीय जनप्रतिनिधि बीच भएको मिलेमतोलाई ओभर लोड टिफरले उदाङ्गो बनाइदिएको छ ।

स्थानिय जनप्रतिनिधि कै सेटिङमा ट्राफिकबाट पनि चुनढुङ्गा ओभरलोड बोक्ने टिफरहरुलाई सोझैं गन्तव्यमा पुग्ने व्यवस्था गरिएको छ ।
चुनढुङ्गाबोक्ने टिफरले ओभर लोड बोकेर बाटोमा सामान्य रुपमा हिँड्न नसक्ने अवस्था रहेको सडक किनारका स्थानीय बताउँछन् ।
ढुंगाको ओभर लोड र गाडीको असामान्य स्पिडले भौतिक संरचनामा समेत क्षेतिपुग्ने र मानवीय दुर्घटनाको समेत जोखिम हुने भएतापनि नियमनकारी निकायहरु जिम्मेवार रुपमा प्रस्तुत नहुँदा जनताले सास्ती खेप्नुपरेको छ ।
चुनढुङ्गा बोकर आउने टिफरलाई ट्राफिक प्रहरीले रोक्ने र सामान्य कानुनी चेकजाँच गर्ने सम्मको आँट पनि गर्न सक्दैन ।
ओभरलोड बोकेर आउने टिफरलाई कारबाही गर्न स्थानीय जनप्रतिनिधिलाई अनुरोध गरेको भएतापनि सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।
नियमित ढाला भन्दा बढी बोक्न पाइँदैन । यातायात कार्यालयहरूले सवारी दर्ता अनुमति दिंदा नै यो शर्त राखेका हुन्छन् । यसरी बोकिएको निर्माण सामग्री त्रिपालले छोप्नु पर्ने व्यवस्था छ । तर ट्रिपरले ढाला भन्दा बढी चुनढुङ्गा बोकी दैनिक रूपमा बाटोमा चुहाउदै दौडिरहेका छन् ।
उदासिन प्रशासन :आँखा चिम्लीँदा मालामाल
जनप्रतिनिधिस्थानीयले सम्बन्धित निकायमा घच्घचाएपनि स्थानीय प्रशासनले वास्ता नगर्दा जनप्रतिनिधि समेत यस बिषयमा बोल्न नखोजेको देख्दा स्थानीयले वडाका जनप्रतिनिधिको समेत संलग्नता रहेको आरोप लगाउन थालेका छन ।
जनताको सुरक्षासँग जोडिएको बिषयमा आँखा चिम्लिदा वडाध्यक्ष लगाएत कार्यपालिका सम्मकै आडमा मापदण्ड विपरित कार्य भइरहेको छ भन्ने कुरालाई बल पुगेको देखिन्छ ।
सवारी साधनले क्षमता भन्दा दोब्बर ओभरलोड बोकेर हिँड्दा पनि सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरीले नियमन गरेर यस्ता सवारी साधनलाई कारवाही गर्न आनकानी गर्दै रमिते बन्दै आएका छन् ।
ट्रिपर व्यवसायी र ट्राफिक प्रहरीका उच्च तहका हाकिमहरूका बिचमा भएको सेटिङकै कारण लामो समयदेखि यस्तो भ्रष्ट कार्य हुने गरेको भएपनि सम्बन्धित नुवाकोट जिल्ला प्रशासनका सरकारी अधिकारीहरू भने कानमा तेल हालेर आनन्द मानिरहेको स्रोतको दावी छ ।
