नुवाकोट, साउन २४ — बिदुर नगरपालिका–१ त्रिशुलीस्थित बसपार्क नजिकै त्रिशुली नदीको बिचमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक पुरुष र एक महिला रहेका छन्।
स्थानीयका अनुसार ती दुई जना बिहानै दाउरा संकलन गर्न त्रिशुली नदी किनारमा गएका थिए। तर, अचानक आएको बाढीका कारण नदीको सतह बढेपछि उनीहरू बीचमा फसेका थिए। नदीको पानी बढेपछि उनीहरू नजिकैको रुख चढेर बसेका थिए। खबर पाएपछि नेपाली सेना र सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए।
उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकोप्टर परिचालन गरिएको थियो। जोखिमपूर्ण अवस्थामै उनीहरूको सकुशल उद्धार गरिएको हो।
यसैबीच, अबिरल वर्षाका कारण चीनतर्फबाट आउने भोटेकोशी नदीमा पनि बाढी आएको छ। बाढीका कारण रसुवागढीस्थित नेपाल–चीन सिमानामा रहेको मितेरी पुलमा क्षति पुगेको छ। चिनियाँ भूभागमा परेको भारी वर्षाका कारण नदीमा पानीको सतह खतरनाकरूपमा बढिरहेको छ।
सुरक्षाका दृष्टिले त्रिशुली र भोटेकोशी आसपासका क्षेत्रहरूमा उच्च सतर्कता अपनाइएको छ। प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित रहन र अनावश्यक रुपमा नदी किनारमा नजान आग्रह गरेको छ ।