नुवाकोट, २०८२ असार २९ – नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. १ स्थित पासाङ ल्हामु सडक खण्डमा लागुऔषध ओसारपसारमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा असार २७ गते प्रहरीले बा ८६ प ८८९२ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा TRAMAN-50 लेखिएको ९२ पत्ता (९२० क्याप्सुल), NOOPHIN लेखिएको १५ एम्पुल, PROMETHAZINE HYDROCHLORIDE लेखिएको १५ एम्पुल र DIAZEPAM लेखिएको १५ एम्पुल गरी कुल ९२० क्याप्सुल र ४५ एम्पुल लागुऔषध बरामद गरेको हो। सो क्रममा प्रहरीले बिदुर नगरपालिका वडा नं. १० का बिशाल मग्राती (२५ वर्ष), वडा नं. ९ का प्रोमेश श्रेष्ठ (३६ वर्ष) र प्रदिप बिसुन्के (२७ वर्ष) लाई स्कुटरसहित नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूसँग सम्बन्धित लागुऔषध कारोबारमा संलग्न बिदुर नगरपालिका वडा नं. २ का अनिस राना मगर (२८ वर्ष), राजिव ढुङ्गाना (३७ वर्ष) र किस्पाङ गाउँपालिका वडा नं. २ का पुर्ण तामाङ (२२ वर्ष) लाई समेत पक्राउ गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ भने असार २९ गते जिल्ला अदालत, नुवाकोटबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक बिक्रम लामाले बताउनुभयो ।