• ४ बैशाख २०८३, शुक्रबार

नुवाकोटमा नक्कली नोटसहित दुई जना पक्राउ, ९३ थान नक्कली नोट बरामद

नुवाकोट, साउन ६ –

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६, रामती बजारमा नक्कली नोट लिई हिँडिरहेका बालकहरूमार्फत सुरु भएको अनुसन्धानले दुई जना व्यक्तिलाई पक्राउ गरि प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ।

२०७९ साउन ६ गते साँझ करिब ५ बजेतिर रामती बजार क्षेत्रमा ३/४ जना बालकहरूले नक्कली नोट बोकी हिँडेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट खटिएको प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको हो। बालकहरूबाट १००० रुपैयाँ दरका ६९ थान नक्कली नोट फेला परेपछि अनुसन्धानलाई थप गहिरो बनाइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती नक्कली नोटहरू दुप्चेश्वर गाउँपालिका–७ निवासी ४२ वर्षीय नर बहादुर तामाङत्यही ठाउँका भिम बहादुर तामाङले बनाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी बिक्रम लामाले जानकारी दिनुभयो।

पक्राउ परेका भिम बहादुर तामाङको घर खानतलासी गर्दा थप २४ थान नक्कली नोट समेत बरामद गरिएको छ। यससँगै कूल बरामद भएको नक्कली नोटको संख्या ९३ पुगेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि खोटा मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटबाट साउन ८ गतेदेखि ७ दिनको म्याद थप अनुमती लिइएको प्रहरीले जनाएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ





प्रतिक्रिया दिनुहोस्