• २१ फाल्गुन २०८२, बिहीबार

त्रिशूली अस्पतालको ६१औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

नुवाकोट – श्रबण १२ , नुवाकोटको विदुर नगरपालिका–९ मा अवस्थित त्रिशूली अस्पतालले आफ्नो ६१औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूसहित भव्य रुपमा सम्पन्न गरेको छ।

वार्षिकोत्सवका अवसरमा एक हप्तासम्म विविध खेलकुद प्रतियोगिता, स्वास्थ्य सचेतना कार्यक्रम तथा सम्मान समारोह आयोजना गरिएको थियो।

समापन समारोहको प्रमुख आकर्षण भने वर्ष उत्कृष्ट कर्मचारीको सम्मान कार्यक्रम रह्यो।

मेडिकल अफिसर इन्चार्ज डा. कैलाश विश्वकर्मालाई अस्पतालमा प्रभावकारी सेवा पुर्‍याएको आधारमा “वर्षको उत्कृष्ट कर्मचारी” घोषणा गर्दै नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

उक्त सम्मान विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले प्रदान गरेका हुन्।

समारोहमा बोल्ने वक्ताहरूले त्रिशूली अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको बताए।

अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले अस्पतालमा सिटी स्क्यान, डायलोसिस लगायतका अत्याधुनिक उपकरणहरू मार्फत बिरामीहरूको उपचार प्रभावकारी ढंगले भइरहेको जानकारी दिए।

उनका अनुसार, यस्ता उपकरणहरूको प्रयोगले रोग पहिचान सजिलो हुनुका साथै उपचार प्रक्रियामा गति आएको छ।

जनशक्तिको परिचालन समेत व्यवस्थित हुँदै गएकाले सेवाग्राहीहरूको विश्वास बढ्दो क्रममा रहेको अध्यक्ष बुढाथोकीले बताए

कार्यक्रममा सहभागी धादिङ अस्पतालका प्रमुख डा. गगन अधिकारी, रसुवा अस्पतालका प्रमुख डा. अच्युत पौडेल, अस्पतालकी सदस्य अन्जली पाण्डे र पूर्व अध्यक्ष पारस अधिकारीले स्वास्थ्य सेवा, पहुँच, दक्ष जनशक्ति र उपकरणको उपयोगबारे आफ्नो धारणा राखेका थिए।

त्रिशूली अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले विगतदेखि हालसम्मको यात्रा स्मरण गर्दै सेवा प्रवाहलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

यसै अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजेताहरुलाई समेत प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।

ऐतिहासिक यात्रा

वि.सं. २०२० मा त्रिशूली जलविद्युत् केन्द्र निर्माणमा संलग्न श्रमिकहरूको स्वास्थ्य उपचारको लागि स्थापना भएको यो सानो स्वास्थ्य चौकी अहिले तीन जिल्लाका मानिसको प्रमुख उपचार केन्द्र बनेको छ।

वार्षिकोत्सवले अस्पताल परिवारमा उत्साह थप्नुका साथै सेवा गुणस्तर अझ सुधार गर्न प्रेरणा दिएको सहभागीहरूको भनाइ छ





प्रतिक्रिया दिनुहोस्