काठमाडौं, बिहीबार राति —
गुण्डागर्दीका घटनामा संलग्न रहँदै आएका मिलन गुरुङ, जसलाई ‘चक्रे मिलन’ नामले चिनिन्छ, बिहीबार राति प्रहरीले काठमाडौंको एक होटलबाट पक्राउ गरेको छ। महाराजगञ्जस्थित बाँसबारी रोडमा रहेको होटल साम्बाला मा आफ्नो जन्मदिन मनाउन गएका बेला उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा होटलमा छापा मारेको थियो। सोही क्रममा चक्रे मिलनसहित उनका केही सहयोगीहरूलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले यस अभियानअन्तर्गत ठमेल र महाराजगञ्ज क्षेत्रबाट आपराधिक क्रियाकलापमा संलग्न ४७ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामध्ये धेरैजसोमा पुराना आपराधिक रेकर्ड रहेको अनुमान गरिएको छ।
चक्रे मिलन यसअघि पनि २०७४ साल वैशाख २६ गते महाराजगञ्ज क्षेत्रबाटै पक्राउ परेका थिए।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।