नुवाकोट जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली काङ्ग्रेसका उम्मेदवार जगदिश्वर नगसिह केसीले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्। विभिन्न वडामा आयोजित घरदैलो तथा अन्तरक्रिया कार्यक्रमका क्रममा उहाँले “मलाई मत दिनुहोस्, ५ वर्ष निरन्तर सेवा गर्नेछु” भन्दै मतदातासामु प्रतिवद्धता व्यक्त गर्नुभयो।

भेटघाट कार्यक्रममा बोल्दै केसीले विशेष महाधिवेशनपछि सुधार र रुपान्तरणको बाटोमा अघि बढेको नेपाली काङ्ग्रेस अब स्पष्ट कार्यदिशासहित जनताको बीचमा आएको दाबी गर्नुभयो। उहाँका अनुसार काङ्ग्रेसले देश विकासका लागि १० वटा मुख्य भिजन अघि सारेको छ, जसमा गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, युवालाई रोजगारी, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार विकास तथा नागरिकको आत्मसम्मान सुनिश्चित गर्ने एजेन्डा समेटिएका छन्।
“जनताले पाउनुपर्ने आधारभूत सेवा र सम्मान सुनिश्चित गर्नु नै हाम्रो पहिलो दायित्व हो,” केसीले भन्नुभयो, “बहुमतको स्थिर सरकार बिना दिगो विकास सम्भव हुँदैन।” उहाँले आगामी निर्वाचनपछि बहुमतको सरकार काङ्ग्रेसकै नेतृत्वमा बन्ने विश्वास व्यक्त गर्दै गगन थापा देशको प्रधानमन्त्री बन्ने दाबीसमेत गर्नुभयो।
उहाँले ‘नयाँ’ नाममा उदाएका केही राजनीतिक दलप्रति लक्षित गर्दै सहकारी ठगीजस्ता प्रकरणमा मुछिएको आरोप लगाउनुभयो। “जनतामा भ्रम सिर्जना गरेर राजनीति गर्ने प्रवृत्ति अब स्वीकार्य छैन,” उहाँले भन्नुभयो, “संसद जलाउनेलाई सांसद बनाउने गल्ती फेरि दोहोरिनु हुँदैन।”
कार्यक्रममा सहभागी स्थानीय मतदाताले रोजगारी, सडक, खानेपानी, स्वास्थ्य चौकी स्तरोन्नति र कृषि उत्पादनको बजारीकरणजस्ता विषय उठाएका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै केसीले क्षेत्र नं. २ को समग्र विकासका लागि स्पष्ट योजना रहेको बताउनुभयो। “नुवाकोटको सम्भावना कृषि, पर्यटन र युवा शक्तिमा छ,” उहाँले थप्नुभयो, “यी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिनेछ।”
चुनावी अभियान अन्तर्गत घरदैलो, टोलभेला र अन्तरक्रिया कार्यक्रम निरन्तर सञ्चालन भइरहेको काङ्ग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ। क्षेत्र नं. २ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला केसीले विकास, स्थायित्व र सुशासनलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।
निर्वाचन नजिकिँदै जाँदा नुवाकोट क्षेत्र नं. २ मा राजनीतिक चहलपहल बढ्दो छ।