तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत काठमाडौंमा जारी महिला भलिबल प्रतियोगितामा नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ।
समूह चरणअन्तर्गत आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नुवाकोटले भक्तपुरलाई २–१ सेटले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। नुवाकोट भलिबल टोलीका म्यानेजर पाल्देन लामा तामाङका अनुसार पहिलो सेट आफ्नो पक्षमा पारेको नुवाकोटले दोस्रो सेट गुमाए पनि निर्णायक तेस्रो सेट जित्दै क्वाटरफाइनल यात्रा तय गरेको हो।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोटले काठमाडौं जिल्लालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो। उक्त खेलमा नुवाकोटले पहिलो सेट २५–९ तथा दोस्रो सेट २५–११ ले जित्दै सहज विजय हासिल गरेको थियो।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै नुवाकोटले समूह चरण पार गर्न सफल भएको हो। टोलीका खेलाडीहरूले आक्रामक खेल, सुदृढ रक्षापङ्क्ति तथा उत्कृष्ट समन्वय प्रस्तुत गर्दै प्रतियोगितामा बलियो उपस्थिति जनाएका छन्। क्वाटरफाइनलमा प्रवेशसँगै नुवाकोटको उपाधि यात्राले थप गति लिएको छ। आगामी चरणका खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्य रहेको टोली व्यवस्थापनले जनाएको छ ।