नुवाकोट, असार १८ । बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत कराते प्रतियोगितामा नुवाकोटका खेलाडीहरूले शानदार प्रदर्शन गर्दै आफ्नो दबदबा कायम गरेका छन्। पुरुष र महिला दुवैतर्फ गरी नुवाकोटका ७ खेलाडी सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् भने धेरै खेलाडीले प्रतिद्वन्द्वीलाई नकआउट गर्दै आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरेका छन्।
पुरुष ४५ केजी तौल समूहमा नुवाकोटका सुजन तामाङले सिन्धुलीका संगम मोक्तानलाई शानदार नकआउट गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे। ५० केजीमा आशिष तामाङले काभ्रेका सुबास मोक्तानलाई नकआउट गर्दै अन्तिम चारमा प्रवेश गरे।
६० केजी तौल समूहमा नुवाकोटका बिजय राईले सिन्धुपाल्चोकका बुद्धिमान तामाङलाई नकआउट गर्दै सेमिफाइनल यात्रा तय गरे भने पुरुष खुल्ला तर्फ रोसन तामाङले धादिङका हेमन्त तामाङलाई नकआउट गर्दै नुवाकोटको जितको लयलाई निरन्तरता दिए।

महिलातर्फ पनि नुवाकोटका खेलाडीहरूको प्रदर्शन प्रभावशाली रह्यो। ४५ केजीमा सर्मिला माझीले धादिङकी अस्मिता तामाङलाई नकआउट गर्दै सेमिफाइनलमा प्रवेश गरिन्। ५० केजीमा बबिता कार्कीले सिन्धुलीकी कविता मोक्तानलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन्। ५५ केजीमा सुस्मिता तामाङ पनि सेमिफाइनलमा पुग्न सफल भइन्।
यद्यपि पुरुष ५५ केजीमा संयोग मगर मकवानपुरका अनिश गोलेसँग तथा ६५ केजीमा आसुतोष लामा काभ्रेका रोहित थापासँग क्वाटरफाइनलमा पराजित भए। महिला खुल्लातर्फ सोनिया तामाङ पनि मकवानपुरकी रेशम थापासँग क्वाटरफाइनलमा रोकिइन्।

नुवाकोटका खेलाडीहरूले नकआउट जितसहित गरेको दमदार प्रदर्शनले जिल्लाको खेलकुद इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपेको छ। अब सेमिफाइनलमा प्रवेश गरेका खेलाडीहरूबाट स्वर्ण पदकसहित बागमती प्रदेशमा नुवाकोटको नाम उच्च राख्ने अपेक्षा गरिएको छ। करातेमा देखिएको यो उत्साहजनक नतिजाले नुवाकोटमा उत्पादन भएका प्रतिभावान खेलाडीहरूको क्षमता पुनः प्रमाणित गरेको छ।