नुवाकोट, भदौ ९। ‘मोबाइलको कभर फेरेर छिट्टै फर्किन्छु’ भन्दै घरबाट निस्किएकी पञ्चकन्या गाउँपालिका–५ भेडाबारीकी १९ वर्षीया सिर्जना गिरी तीन दिन बितिसक्दा पनि घर फर्किएकी छैनन्।
भदौ ६ गते शनिबार दिउँसो करिब १२ बजे छहरे बजार जाने भन्दै घरबाट निस्किएकी सिर्जना त्यसपछि परिवारको सम्पर्कमा आएकी छैनन्। साँझसम्म पनि घर नफर्किएपछि परिवारले आफन्त तथा चिनजानका व्यक्तिहरूमार्फत खोजी सुरु गरेको थियो। तर अहिलेसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन।
छोरीको अवस्था अज्ञात भएपछि परिवारले अहिले उनको खोजीमा सार्वजनिक सहयोगको अपिल गरेको छ। आमा सीता गिरीले सिर्जनालाई भेट्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने जो–कोहीलाई तत्काल खबर गरिदिन आग्रह गरेकी छन्।
सिर्जनाको उचाइ करिब ५ फिट, तौल ४५ किलो र वर्ण गहुँगोरो रहेको परिवारले जनाएको छ। उनको देब्रे आँखामा र ओठमाथि खत रहेको विशेष चिन्ह छ। उनी घरबाट निस्कँदा सेतो टिसर्ट, कालो जिन्सको पाइन्ट र सेतो जुत्ता लगाएकी थिइन्।
सिर्जना कहींकतै देखिएमा वा उनको अवस्थाबारे जानकारी भए आमा सीता गिरी–९८६४३९०२९२ मा सम्पर्क गर्न अथवा नजिकको प्रहरी कार्यालयमा खबर गर्न परिवारले अनुरोध गरेको छ ।