• १४ भाद्र २०८३, आईतवार

त्रिशूली पारिका बस्तीमा खाद्यान्न संकट, तत्काल राहत र आपूर्तिको व्यवस्था गर्न स्थानीयको अपिल

नुवाकोट । भोटेकोसी बाढीका कारण त्रिशूली खोलापारिका बस्तीमा खाद्यान्न अभाव हुन थालेपछि स्थानीयवासीले तत्काल राहत तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

विदुर नगरपालिका–१, ७, ८, ९, १०, ११ र १२ नम्बर वडाका विभिन्न स्थानबाट चामल, दाल, तेल, नुनलगायत अत्यावश्यक खाद्यान्नको अभाव भएको भन्दै फोनमार्फत गुनासो आउन थालेको स्थानीयले बताएका छन्। बाढीका कारण पुल तथा आवागमन अवरुद्ध हुँदा बजारबाट सामान लैजान कठिन भएपछि स्थानीय पसलहरूमा समेत खाद्यान्नको मौज्दात सकिँदै गएको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार कतिपय स्थानमा विद्युत् सेवासमेत अवरुद्ध रहेकाले बाढीपछिको जनजीवन थप कष्टकर बनेको छ। राहत सामग्री केही स्थानमा पुगे पनि त्रिशूली खोलापारिका दुर्गम तथा पहुँचविहीन बस्तीमा पर्याप्त राहत पुग्न नसकेको स्थानीयको गुनासो छ।

स्थानीयवासीले राहत सामग्री वितरणसँगै स्थानीय पसलहरूमा समेत चामल, दाल, तेल, नुनलगायत आवश्यक खाद्यान्न तत्काल पुर्‍याउने व्यवस्था गर्न आग्रह गरेका छन्। पसलमा सामान उपलब्ध भए स्थानीयले आवश्यक सामग्री आफैं खरिद गर्न सक्ने भएकाले राहत वितरणलाई समेत थप व्यवस्थित बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ।

सडक वा पुलमार्फत तत्काल सामग्री पुर्‍याउन सम्भव नभएका स्थानमा हेलिकप्टरमार्फत भए पनि खाद्यान्न तथा अत्यावश्यक सामग्री पुर्‍याउन प्रहरी प्रशासन, स्थानीय तह र अन्य सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ।

बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न चाहने दाताहरूलाई समेत त्रिशूलीपारिका बस्तीको वास्तविक अवस्थालाई ध्यानमा राखेर खाद्यान्न तथा अत्यावश्यक सामग्री त्यहाँसम्म पुर्‍याउन सहयोग गर्न स्थानीयवासीले अपिल गरेका छन्।

“राहत आएको सुन्नुभन्दा पनि हाम्रो बस्तीमा राहत र खाद्यान्न आइपुगेको देख्न चाहन्छौँ,’’ स्थानीयको भनाइ छ। अहिलेको संकटमा सबैभन्दा ठूलो आवश्यकता प्रभावित बस्तीमा तत्काल खाद्यान्न आपूर्ति पुर्‍याउनु रहेको उनीहरूले बताएका छन्




प्रतिक्रिया दिनुहोस्