• १६ भाद्र २०८३, मंगलवार

भोटेकोशीको बाढीले उजाडेको भूगोलमा गगन, पीडितसँगै उभिएर बुझे पीडा

नुवाकोट भोटेकोशीमा आएको बाढीले धादिङ र नुवाकोटमा पुर्‍याएको क्षति र त्यसबाट प्रभावित नागरिकको अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार प्रभावित क्षेत्रमा पुगेका छन्। उनले सडक र पुलको क्षतिसँगै बाढीले उजाडिएका बस्ती, खेतीयोग्य जमिन तथा विस्थापित परिवारको अवस्थाबारे स्थलगत जानकारी लिएका छन्।

धादिङको गल्छीस्थित पुल पार गरेपछि थापाले कोल्पुटारलगायत बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए। बाढीले पुर्‍याएको भौतिक क्षति र स्थानीयको समस्याबारे जानकारी लिएपछि उनी नुवाकोटतर्फ लागेका थिए।

नुवाकोटमा थापाले तारुकाघाट, दर्शनदार, देविघाट र गौरीबेसीलगायतका क्षेत्रको अवस्था हेरे। बाढीले क्षति पुर्‍याएका संरचना, खेतीयोग्य जमिन तथा विस्थापित परिवारको अवस्थाबारे उनले स्थानीयसँग प्रत्यक्ष जानकारी लिएका थिए।

स्थानीयका अनुसार बाढीपछि सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको मात्रै होइन, कतिपय परिवारको बसोबास र जीविकोपार्जनसमेत प्रभावित भएको छ। अनुगमनका क्रममा थापाले तत्कालीन राहतसँगै प्रभावितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको आवश्यकताबारे चासो राखेका थिए।

स्थलगत निरीक्षणपछि थापा नुवाकोटको हात्तिगौंडास्थित होल्डिङ सेन्टर पुगे। त्यहाँ बाढी तथा पहिरोका कारण विस्थापित भएर बसेका नागरिकसँग उनले भेटघाट गरे। विस्थापितलाई उपलब्ध गराइएको खाना, बसोबास तथा अन्य आधारभूत सुविधाको अवस्थाबारे समेत उनले जानकारी लिए।

नेपाली कांग्रेस नुवाकोटका नेता जगदिश्वरनरसिंह केसीका अनुसार थापाले प्रभावित नागरिकको तत्कालको आवश्यकताका साथै उनीहरूलाई सुरक्षित रूपमा पुनःस्थापना गर्ने विषयमा समेत चासो व्यक्त गरेका थिए।

बाढीपछि प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै अब पुनःस्थापना तथा पुनर्निर्माणको चुनौती थपिँदै गएको छ। थापाको स्थलगत अनुगमनलाई पनि बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था केन्द्रसम्म पुर्‍याउने प्रयासका रूपमा हेरिएको छ




प्रतिक्रिया दिनुहोस्