नुवाकोट । भोटेकोसी बाढीले जिल्लाका विभिन्न क्षेत्रमा विपद् निम्त्याएपछि प्रभावित नागरिकको उद्धार तथा राहतमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले प्रभावकारी भूमिका निर्वाह गरेको छ।
बाढीबाट प्रभावितका लागि स्थापना गरिएका नुवाकोट जिल्लाका सम्पूर्ण होल्डिङ सेन्टरमा रेडक्रसले पहिलो चरणमै चामल, दाल, त्रिपाल, ड्राइफुड, पिउने पानीलगायत अत्यावश्यक राहत सामग्री पुर्याएको जनाएको छ।

त्यस्तै, सेभ द चिल्ड्रेनको सहयोगमा सोलार लाइटसमेत प्रभावित क्षेत्रमा पुर्याइएको छ। विद्युत् सेवा अवरुद्ध भएका तथा रातको समयमा उज्यालोको समस्या झेलिरहेका बाढीपीडितका लागि सोलार लाइट उपयोगी बनेको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठका अनुसार राज्यका सम्बन्धित निकायको राहत संयन्त्र पूर्ण रूपमा परिचालन हुनुअघि नै रेडक्रसले प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा आवश्यक सामग्री पुर्याएको हो।
“विपद्को पहिलो चरणमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। जिल्लाका सम्पूर्ण होल्डिङ सेन्टरमा चामल, दाल, त्रिपाल, ड्राइफुड, पिउने पानीलगायतका सामग्री राज्यका निकायभन्दा अगावै पुर्याउन सफल भएका छौँ,” श्रेष्ठले बताउनुभयो।
यसैबीच, आज किस्पाङ गाउँपालिकाको शान्तिबजार क्षेत्रका बाढीपीडितका लागि समेत राहत सामग्री लैजाने तयारी गरिएको श्रेष्ठले जानकारी दिनुभयो। प्रभावित परिवारको आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने उहाँले बताउनुभयो।
विपद्को घडीमा तत्काल राहत र सहयोग आवश्यक पर्ने अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले स्थानीय तह, सहयोगी संस्था तथा अन्य सरोकारवाला निकायसँगको समन्वयमा राहत अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।