नुवाकोट । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको जनजीवन अस्तव्यस्त बनाइरहेका बेला विदुर र बट्टार क्षेत्रमा अर्को गम्भीर संकट देखिएको छ ।
बाढीका कारण खानेपानीका पाइपलाइनमा व्यापक क्षति पुगेपछि घरघरमा धारामा पानी आउन छाडेको छ। बाढीको प्रत्यक्ष चपेटामा नपरेका बस्तीमा समेत पाइपलाइन अवरुद्ध हुँदा स्थानीयले खाना पकाउनेदेखि सरसफाइसम्मका दैनिक कामका लागि पानीको अभाव झेलिरहेका छन्।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार नगरपालिकाले उपलब्ध दमकल र ट्याङ्कर परिचालन गरेर प्रभावित बस्तीमा पानी वितरण गरिरहेको छ। तर मागअनुसार पानी उपलब्ध गराउन नसकिएको उनले बताइन्।

‘नगरपालिकासँग भएका दमकल र ट्याङ्करमार्फत टोल–टोलमा पानी पुर्याइरहेका छौँ,’ बोगटीले भनिन्, ‘तर त्यो पर्याप्त छैन। घरघरमै खानेपानीको अभाव छ।’ पानीको अभावको असर सर्वसाधारणको दैनिकीमा मात्र सीमित छैन। विदुर र बट्टार क्षेत्रका होटल तथा व्यवसायसमेत प्रभावित भएका छन्। पर्याप्त पानी नहुँदा होटल सञ्चालन गर्न कठिन भएको व्यवसायीहरूले बताएका छन्। उपप्रमुख बोगटीका अनुसार पानीको मूलमा ठूलो क्षति नभए पनि मुख्य समस्या पाइपलाइनमा भएको छ। ‘मुहानमा क्षति नपुगे पनि पाइपलाइन लगभग बाँकी छैन,’ उनले भनिन्, ‘त्यसैले पानी वितरणमा ठूलो समस्या भएको हो।’ बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत शिविरमा भने राहत सामग्रीसँगै जार तथा मिनरल वाटर पुर्याउने प्रयास भइरहेको छ। तर शिविर र स्थानीयको आवश्यकताको तुलनामा त्यो पनि पर्याप्त हुन सकेको छैन। बाढीले घर, सडक र संरचना मात्र होइन, सामान्य जीवनको आधारभूत आवश्यकता समेत प्रभावित बनाएको छ। अहिले विदुर र बट्टारका बासिन्दाको मुख्य चिन्ता एउटै छ,धारामा पानी कहिले फर्किन्छ?
खानेपानीको पाइपलाइन पुनः सञ्चालनमा ल्याउने काम छिटो अघि नबढे संकट अझ गहिरिन सक्ने स्थानीयको भनाइ छ। बाढीपछिको पुनःस्थापनामा सडक र भौतिक संरचनासँगै खानेपानी आपूर्तिलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ ।