• १५ भाद्र २०८३, सोमबार

दिउँसै वृद्ध दम्पतीको घरमा लुटपाट, बट्टारमा सुरक्षा चुनौती

नुवाकोटविदुर नगरपालिका–४, बट्टारस्थित फिल्म हल पछाडिको बस्तीमा दिउँसै घरमा प्रवेश गरी अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएको छ।

प्राप्त जानकारीअनुसार समाजसेवी बाबुराम अधिकारीको घरमा अज्ञात समूह प्रवेश गरी अधिकारी र उनकी पत्नीले लगाएका सुनका गहना जबर्जस्ती फुकालेर फरार भएको हो।

लुटपाटमा संलग्न व्यक्तिहरूले बाबुराम अधिकारीको घाँटीमा रहेको सुनको सिक्री तथा उनकी पत्नीको कानमा लगाएको सुनको टप जबर्जस्ती फुकालेर लगेका बताइएको छ। घटनाका बेला घरमा वृद्ध दम्पती मात्रै रहेको र उनीहरूलाई हिँडडुल गर्नसमेत कठिनाइ हुने स्थानीयले बताएका छन्।

बस्तीमा दिउँसै घरभित्र प्रवेश गरेर अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएपछि स्थानीयवासीमा त्रास र चिन्ता बढेको छ। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ भने प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाइएको छ।

घटनापछि स्थानीयवासीले बट्टार तथा आसपासका क्षेत्रमा अपरिचित तथा शंकास्पद व्यक्तिको गतिविधिमाथि निगरानी बढाउन आग्रह गरेका छन्। विशेषगरी घरमा एक्लै बस्ने ज्येष्ठ नागरिक, अशक्त तथा असहाय व्यक्तिको सुरक्षामा परिवार र छिमेकीले थप सावधानी अपनाउनुपर्ने उनीहरूको भनाइ छ।

स्थानीयले शंकास्पद गतिविधि, अपरिचित व्यक्तिको आवतजावत वा कुनै पनि आपराधिक गतिविधिको संकेत देखिए तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेका छन्। दिउँसै वृद्ध दम्पतीको घरमै प्रवेश गरेर भएको यो घटनाले बट्टार क्षेत्रमा सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ




प्रतिक्रिया दिनुहोस्