• १७ भाद्र २०८३, बुधबार

बाढीले बगाएको त्रिभुवन त्रिशूली मावि भारतले बनाइदिने

नुवाकोट । रसुवाको भीषण बाढीले भवन नै बगाएको नुवाकोटको त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारत सरकारले पुनर्निर्माण गरिदिने भएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग संवाद गर्दै बाढीबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण भारत सरकारले गरिदिने प्रतिबद्धता जनाएका हुन । गत साता आएको आकस्मिक बाढीले विदुर नगरपालिका–स्थित त्रिशूली बजारमा रहेको विद्यालयको भवन पूर्णरूपमा बगाएको थियो। बाढीले विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुर्‍याए पनि मानवीय क्षति भने हुन पाएन। बाढीको जोखिम बढ्दै गएको अवस्थालाई समयमै पहिचान गरी प्रधानाध्यापक दवाडीले विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएका थिए।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको इतिहास भारतसँग समेत जोडिएको छ। त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा सन् १९५० को दशकमा भारतीय सहयोगमा स्थापना भएको विद्यालयको नयाँ भवनसमेत सन् २०२२ मा भारतको एचआईसिडीपी कार्यक्रमअन्तर्गतको सहयोगमा निर्माण गरिएको थियो।तर, निर्माण भएको केही वर्षमै आएको विनाशकारी बाढीले विद्यालयको भवन नै बगाएपछि पुनःनिर्माणको आवश्यकता परेको हो। यही अवस्थामा भारतीय राजदूत श्रीवास्तवले प्रधानाध्यापक दवाडीसँगको संवादमा विद्यालय पुनर्निर्माणमा भारत सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका हुन्।

विद्यालय भवन बगेपछि अन्योलमा परेको पठनपाठन र विद्यार्थीको भविष्यलाई समेत यस प्रतिबद्धताले राहत दिएको विद्यालय परिवारको विश्वास छ। बाढीबाट प्रभावित विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयवासीले अब त्रिशूली बजारमै विद्यालयको नयाँ संरचना निर्माण हुने अपेक्षा गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्