नुवाकोट — नागर्जुन व्यापार संघ बाइपास–माछापोखरीले संकलन गरेको राहत सामग्री नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा नुवाकोटका बाढीपीडित परिवारलाई वितरण गरिएको छ।
महासंघले विदुर नगरपालिका–१० स्थित गेर्खुटार होल्डिङ सेन्टर, विदुर नगरपालिका–२ को कभर्ड हललगायतका विभिन्न होल्डिङ सेन्टरमा पुगेर राहत सामग्री वितरण गरेको हो। बाढीबाट विस्थापित तथा प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई लक्षित गरी महिला, पुरुष र बालबालिकाका लागि आवश्यक कपडा तथा अन्य सामग्री वितरण गरिएको थियो।
बालबालिकाका लागि जुत्ता–चप्पल, टी–सर्ट, पाइन्ट, ट्र्याकसुट र कट्टु, महिलाका लागि कुर्ता–सुरुवाल, टी–सर्ट–पाइन्ट, जुत्ता–चप्पल, सेनेटरी प्याड तथा भित्री वस्त्र र पुरुषका लागि पाइन्ट, टी–सर्टलगायतका सामग्री वितरण गरिएको छ। कम्बल, ब्ल्याङ्केट र तन्नासमेत राहत सामग्रीमा समावेश थिए।
राहत सामग्री काठमाडौँबाट नुवाकोटसम्म ल्याउने तथा प्रभावित क्षेत्रमा पुर्याउने कार्यमा व्यवसायी राजेन्द्र बुढाथोकीले सहजीकरण गरेका थिए। उनका अनुसार राहत सामग्रीबाट करिब ५ सय घरधुरी लाभान्वित भएका छन्।
बाढी तथा पहिरोका कारण विस्थापित परिवारलाई खाद्यान्नसँगै कपडा, सरसफाइ तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीको समेत अभाव भइरहेका बेला व्यवसायी क्षेत्रबाट गरिएको सहयोगले प्रभावित परिवारलाई तत्काल राहत पुगेको बताइएको छ।
महासंघले विपद्को समयमा व्यवसायी समुदायको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका काममा निरन्तर सहयोग गर्ने जनाएको छ।