काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएर निस्कने क्रममा तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दा दर्ता भएपछि तामाङविरुद्ध पक्राउ अनुमति लिइएको थियो। प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा सोही वृत्तको आग्रहअनुसार काठमाडौं जिल्ला अदालतबाट हिजो पक्राउ अनुमति लिएर आज उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
४३ वर्षीय तामाङ काठमाडौंको नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ सञ्चालन गर्दै आएका थिए। बैठकमा बाढी प्रभावित क्षेत्रका समस्या र राहत तथा पुनःस्थापनाका विषयमा छलफल भइरहेका बेला भएको उनको पक्राउले जनप्रतिनिधि वृत्तमा समेत चर्चा चुलिएको छ ।