विदुर, नुवाकोट । नेपाली कांग्रेसका सक्रिय नेता, उद्योगी–व्यापारी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य ताराबहादुर कार्कीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विदुर नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै कार्कीले राजनीति केवल पद प्राप्त गर्ने माध्यम नभई जनताको विश्वास बोकेर जिम्मेवारी निर्वाह गर्ने क्षेत्र भएको बताएका छन्। नेतृत्व कुर्सीमा सीमित नहुने, अप्ठ्यारोमा कार्यकर्ताको साथमा उभिने साहस र प्रतिबद्धता नै सच्चा नेतृत्वको आधार भएको उनको भनाइ छ।
वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका कार्कीले २०६४ सालमा तत्कालीन भदुटार गाविस इकाइ सभापतिको जिम्मेवारी सम्हाल्दै पार्टीमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पार्टी संगठनमा हासिल गरेको अनुभव, व्यवसायिक क्षेत्रको नेतृत्वदायी भूमिका तथा सामाजिक योगदानका आधारमा आफूले सभापति पदमा उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्।
कार्की नेपाली कांग्रेसभित्र मात्र होइन, निजी क्षेत्रका स्थापित व्यवसायीका रूपमा पनि परिचित छन्। उनी हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रहेका छन्। उद्योग, व्यापार तथा उद्यमशीलताको क्षेत्रमा लामो अनुभव बटुलेका कार्कीले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र कार्यकर्तामुखी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।