• २० कार्तिक २०८३, बिहीबार

वडा अध्यक्ष बद्री देवकोटाको माननीय आशिका तामाङलाई कटाक्ष : ‘तपाईं पत्रकार हो कि माननीय

किस्पाङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बद्री देवकोटाले माननीय आशिका तामाङको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनप्रतिनिधिबीच मर्यादित संवाद र सम्मानको संस्कार हुनुपर्ने बताएका छन्।

थाक्रे गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसँग माननीय आशिका तामाङको भएको भनिएको संवादप्रति टिप्पणी गर्दै देवकोटाले जनप्रतिनिधिहरूबीच प्रश्न गर्न, गल्ती औँल्याउन र जवाफदेहिता खोज्न पाइने भए पनि त्यसको आफ्नै मर्यादा र सीमा हुने बताएका हुन्।

‘आशिका माननीयज्यू, तपाईं पत्रकार हो कि माननीय?’ भन्दै उनले पत्रकारको भूमिका निर्वाह गर्दा पनि मर्यादा आवश्यक हुने र माननीयको जिम्मेवारीमा रहँदा अन्य जनप्रतिनिधिप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने धारणा राखेका छन्।

उनले वडा अध्यक्ष पनि जनताकै अमूल्य मतबाट निर्वाचित प्रतिनिधि भएको स्मरण गराउँदै समस्या भए संवाद, छलफल र सहकार्यबाट समाधान खोज्नुपर्ने बताएका छन्।

देवकोटाको कटाक्ष छ, ‘हामीलाई पदको घमण्ड होइन, जिम्मेवारीको बोध चाहिएको छ। जनप्रतिनिधिलाई थर्काउने होइन, सम्मान गर्दै संवाद गर्ने संस्कार सिकौँ।’