• ८ कार्तिक २०८३, शनिबार

कांग्रेस नेता सिंहद्वारा सांसद पदबाट राजीनामा


काठमाडौं: नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

पार्टीको क्रियाशील सदस्यामाथि भएको छानबिनप्रति आक्रोश व्यक्त गर्दै यसअघि नै राजीनामा दिने घोषणा गरेको सिंहले बुधबार साँझ राजीनामा बुझाएका हुन्।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले राजीनामा बुझाएका हुन्। समायोजन र नवीकरणका क्रममा पार्टीमा उत्पन्न विवादले पार्टीलाई चुस्त र गतिशील बनाउन अवरोध गरेको बताएका छन् ।

सिंहले प्रदेश नम्बर २ मा उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन् ।

सिंहले दुई दशकदेखि प्रदेशमा कांग्रेसको एकछत्र नेताका रुपमा निधिको उपस्थिति हुँदा यसलाई सामान्य मान्नु नहुनेमा जोड दिएका छन् । उनले निष्ठावान, गतिशिल र पार्टीप्रति समर्पित पुराना तथा युवा साथीलाई समेट्न नखोजेको आरोप लगाएका छन् । निष्ठावान युवालाई नसमेटी मनोमानी तरिकाले क्रियाशिल सदस्यता वितरण भएको आरोप उनले राजीनामा पत्रमा लगाएका छन्। यो विषयप्रति उनले ध्यानाकर्षण गराएका छन् ।

बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता आदर्श नेताको मार्गदर्शन अनुरुप पार्टीलाई अगाडि बढाउन नसक्नु दुःखद भएको उनको ठहर छ ।

‘आफ्नो पार्टीका निष्ठावान कार्यकर्ताको संरक्षण गर्नु मेरो प्राथमिक दायित्व पूरा हुनेमा आशंका उत्पन्न हुनु स्वभाविक हो र यो पाटोलाई मैले गम्भीर ढंगले आत्मसात गरेको छु’, उनले राजीनामा पत्रमा लेखेका छन्, ‘त्यसैले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रुपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ ।’