• ९ कार्तिक २०८३, आईतवार

माधव नेपालको दाबी : एक हप्तामै मन्त्रिपरिषदले पूर्णता पाउँछ

काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्रमै मन्त्रिपरिषदले पूर्णता पाइसक्ने दाबी गरेका छन्।

मिनभवनमा पार्टीको केन्द्रीय कार्यालय उदघाटनपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्।

पत्रकारहरुले  मन्त्रिपरिषदले कहिले पूर्णता पाउँछ? भनी गरेको प्रश्नमा अध्यक्ष नेपालले भने,  ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्रै पूर्णता पाउनेछ।’

सत्तापक्षीय पाच दलको गठबन्धन भए तापनि विभिन्न कानुनी समस्या, राजनीतिक असहमति र मन्त्रालयबीच भागबण्डा नमिल्दा शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनाभन्दा बढी समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन।

नयाँ पार्टी कार्यालयमा पार्टी अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले आफूहरूले अरू नेताहरूको जस्तै गफ लगाएर मात्र छाड्ने होइन काम गरेर देखाउनेसमेत प्रतिबद्धता जनाए।

‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर अघि बढ्नेछौँ’ अध्यक्ष नेपालले अगाडि भने, ‘हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यवहारले पुष्टि गरेरै देखाउनेछौँ।’

कार्यक्रममा अध्यक्ष नेपालले तत्काल अरू पार्टीहरूसँग कुनै प्रकारको एकीकरण पनि नगर्ने पनि प्रस्ट पारे। त्यस्तै उनले अहिले रहेको पाँच दलको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राखेर अघि बढ्ने स्पष्ट पारे। उनले आफ्ना नेता कार्यकर्ताहरू कोही कसैलाई विचलित नहुन पनि सुझाव दिए।