• २१ माघ २०७९, शनिबार

कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाग्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । गएको २४ घण्टामा पाँच सय ६९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा एक हजार चार सय ९१ जना, प्रदेश २ मा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएर घर फर्किएका छन् । यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । उहाँको अनुसार एकैदिन थपिएको यो सङ्ख्या अहिलेसम्मकै उच्च दर रहेको पाइएको छ । पछिल्लो दिनमा काठमाडौ उपत्यकासहित देशैभर कोरोनाको जोखिम बढिरहेको तथ्याङ्कले देखाएको छ । रोग रोक्नलाई विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन घोषणा गरिएपनि प्रभावकारी नहुदाँ जनजीवन कष्टकर हुने र रोगको सक्रमण झनै बढिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्