• २२ भाद्र २०८१, शनिबार

रसुवामा जंगली च्याउ खाएर सात जना बिरामी ; बिरामी सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गर्दै

रसुवाको आमाछोदिङ्माे गाउँपालिका-५ को भेठिगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।हिजो बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए । च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनास भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए । अहेव सुरेन्द्र रोकाया र डिल्ली रमण डाँगीले बिरामीको त्यहीँ बसेर उपचार गरिरहेका छन् । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-४ का २५ वर्षीय निहा लामा तामाङ, उहाँकी श्रीमती २५ वर्षीया बुटीमाया तामाङ, बहिनी ११ वर्षीया सुशीला तामाङ, धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका-१ का ३१ वर्षीय घले, २६ वर्षीय क्षितिज घले, उहाँकी श्रीमती २५ वर्षीया चोमाया तामाङ र ३० वर्षीया तितिमाया घले बिरामी परेका हुन् । 

राति पौने ११ बजे भेठिगोठ पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीले उहाँहरूको त्यही बसेर उपचार गरिरहेको छ । प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले साँझ मात्र प्रहरीलाई जानकारी भएको र स्वास्थ्यकर्मीसहित टोली गएर उपचार गरेको कारण बिरामीको ज्यान बचेको बताउनुभयो । थाम्बुचेतबाट झण्डै ७ घण्टा हिँडेपछि भेठीगोठमा पुगिन्छ । बिरामीको अवस्था सुधार भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्