• १८ माघ २०७९, बुधबार

आमाछोदिङ्मो गाउँपालिका भेठिगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको गोठमै उपचार हुदै

रसुवाको आमाछोदिङ्मो गाउँपालिका(५ को भेठिगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।हिजो बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए । च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनास भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए ।

अहेव सुरेन्द्र रोकाया र डिल्ली रमण डाँगीले बिरामीको त्यहीँ बसेर उपचार गरिरहेका छन् । रसुवाको आमाछोदिङ्मो गाउँपालिका(४ का २५ वर्षीय निहा लामा तामाङ, उहाँकी श्रीमती २५ वर्षीया बुटीमाया तामाङ, बहिनी ११ वर्षीया सुशीला तामाङ, धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका(१ का ३१ वर्षीय घले, २६ वर्षीय क्षितिज घले, उहाँकी श्रीमती २५ वर्षीया चोमाया तामाङ र ३० वर्षीया तितिमाया घले बिरामी परेका हुन् । राति पौने ११ बजे भेठिगोठ पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीले उहाँहरूको त्यही बसेर उपचार गरिरहेको छ । प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले साँझ मात्र प्रहरीलाई जानकारी भएको र स्वास्थ्यकर्मीसहित टोली गएर उपचार गरेको कारण बिरामीको ज्यान बचेको बताउनुभयो । थाम्बुचेतबाट झण्डै ७ घण्टा हिँडेपछि भेठीगोठमा पुगिन्छ । बिरामीको अवस्था सुधार भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्