• २९ माघ २०८१, मंगलवार

उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको सिसडोल भरिए पछि फोहोर बिसर्जन गर्न समस्या

विगत १३ वर्षदेखि उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको सिसडोलम भरिए पछी समस्या भएको छ । पहिलेनै भरिएको डम्पिङसाईटमा जबरजस्ति फोहोर बिसर्जन हुँदै आएको थियो । का.म.पा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार हाल व्यवस्थापन गरिरहेकै स्थान वरपर केही समयका लागि स्थानको खोजी भइरहेको छ तर यस विषयमा स्थानीयवासीले भने असहमति जनाएका छन् ।
गत असारमा नै सक्ने गरी दीर्घकालीन रुपमा बञ्चरेडाँडामा ल्यान्डफिल साइड निर्माण भइरहेको भए पनि पूर्ण रुपमा काम नहुँदा का.म.पालाई पुनः समस्या दोहोरिएको हो । अब पहिले नै फोहर थुपारिएको स्थानमा माटोले पुरी तत्कालका लागि फोहोर व्यवस्थापन गर्ने वा स्थानीयवासीलाई सहमति गराई अन्य स्थानको खोजी गर्ने विकल्प मात्र रहेको छ ।
मन्त्रिपरिषद्को बैठकले नै उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार सहितको ल्यान्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको थियो । हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहोर निस्कने गरेको छ ।
काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिल निर्माण गरिएकोमा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहोर व्यवस्थापन गरिँदै आएको छ । गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन ।





प्रतिक्रिया दिनुहोस्