• १६ चैत्र २०८०, शुक्रबार

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
‘उहाँलाई नियुक्ति दिनको लागि प्रस्ताव लेखनको काम भइरहेको छ, सम्भवतः शुक्रबार साँझ प्रस्ताव टुङ्गो लाग्छ’, मन्त्रालय स्रोतले भन्यो । तर उहाँको अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ । चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार हुनुभएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको स्रोतले जनाएको छ । 

‘कुलमानलाई दोहोर्‍याउन दुई अध्यक्षबीच सहमति भइसकेको छ तर अवधि टुङ्गो नलाग्दा प्रस्ताव फाइनल भएको छैन’, मन्त्रालय स्रोतले भन्यो । तर विद्युत् प्राधिकरण ऐनमा कार्यकारी निर्देशकको कार्यकाल चार वर्षे हुने भनेर तोकिएकाले त्यसलाई मिलाउन भने समस्या देखिएको छ ।  प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार हुनुभएको छ तर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घिसिङलाई नै चार वर्ष काम गर्न दिनुपर्ने पक्षमा हुनुहुन्छ । 

ऊर्जामन्त्री वर्षमान पुनले प्रचण्डको भनाइमा सहमत जनाउनुभएको छ । विसं २०७३ सालको भदौ २९ गते प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले देशलाई लोडसेडिङमुक्त बनाउनेदेखि रुग्ण आयोजना पूरा गरेको र चरम घाटामा रहेको प्राधिकरणलाई वार्षिक ११ अर्ब रुपैयाँसम्म नाफामा लगेको भन्दै पुनः नियुक्ति दिन सर्वसाधारणले माग गरिरहेका छन् ।  





प्रतिक्रिया दिनुहोस्