• २४ माघ २०७९, मंगलवार

बजारमा चहलपहल बढ्यो: आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञहरुको सुझाव

कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ । कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिबिधि सामान्य बनाउन भन्दै सरकारले बजार, पसल, सार्वजनिक गाडी खुलाएको हो ।

विद्यालय, मनोरञ्जनस्थल, धार्मिक र सांस्कृतिक गतिबिधि, भोजभतेर र जमघटबाहेक धेरै क्षेत्र खुला भएका छन् । यसबाट संक्रमण झनै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने भएको छ । निषेधाज्ञा गर्नुअघिको अवस्था भन्दा अहिले कोरोना संक्रमण दोब्बर बढेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौ पहिलो हप्ता दिनहुँ औसत ७ सय ५३ हाराहारीमा संक्रमित थपिने गरेकामा अन्तिम हप्ता यो संख्या बढेर दैनिक १ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भदौको अन्तिम दिन बुधबार देशभर अहिलेसम्मकै धेरै १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि हुँदा काठमाण्डौ उपत्यकामा मात्रै ७ सय ३७ जना थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४१ हजार ७ सय ६ जना निको भएका छन् भने १६ हजार २ सय ४२ जना आइसोलेशनमा छन् । यस्तै ७ हजार ८ सय २० जना क्वरेण्टीनमा छन् ।  जोखिम कम नभए पनि धेरै क्षेत्र खुला भएपछि व्यक्ति आफैंले कोरोनाबाट बच्ने उपाय खोज्नुपर्ने विज्ञहरुले जनाएका छन् ।





प्रतिक्रिया दिनुहोस्