बाग्मती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ । प्रहरीको विषयमा प्रहरीसंग गुनासो गर्न र उजुरी गर्न नागरिकहरुलाई अप्ठ्यारो परेकोले यो कार्यक्रमको सुरुवात भएको हो ।
नुवाकोट जिल्लाका लागि विदुर नगरपालिकाको कार्यालय भित्र गुनासो पेटिका राखिएको छ । गुनासो पेटिकाको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेलले यो अभियानले झन् नागरिकहरुलाई सर्बोच्च बनाएको बताउनुभएको छ । प्रहरीको विषयमा प्रहरी कार्यालमै पुगेर गुनासो वा उजुरी गर्ने वातावरण नभएको अवस्थामा यसले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभएको छ ।
प्रहरीले गरेको काम कारबाहीको विषयमा चित्त नबुझेमा वा सुझाव दिन मन लागेमा नगरपालिकाको कार्यालय परिषरमा राखिएको पेटिकामा लिखित रुपमा राख्न सकिने छ । जसले गर्दा नागरिकहरुको सेवामा खटिएका प्रहरीहरुलाई अझ जिम्मेवार र मर्यादित बनाउने पोखरेलले बताउनुभएको छ । गुनासो तथा सुझाव संकलन पेटिका स्थापनाको क्रममा नुवाकोट प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले यसरी संकलन हुने सुझाव, गुनासो वा उजुरी सिधै प्रदेश कार्यालयमा पठाइने बताउनुभएको छ ।
नगरपालिका र प्रहरी कार्यालयको रोहवरमा हरेक महिनाको १ गते पेटिका खोलेर त्यहाँ भएको उजुरीलाई सिधै प्रहरीको प्रदेश कार्यालयमा पठाइने उहाँले बताउनुभयो । प्रहरीका विषयमा विना हिचकिचाहट केही सुझाव दिन मनलागे वा उजुरी गर्नुपर्न भए लिखित रुपमा दिन उहाँले नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।