शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरे डाँडा ‘ल्याण्डफिल साइट’ निर्माणको काम दशैं अगाडि नै सम्पन्न हुने बताएका छन् ।काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापनका लागि नुवाकोट र धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधीन साइट निर्माणको काम दशैंअगाडि नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए। निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको दावी गरे।
ल्याण्डफिल साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताए। बन्चरे डाँडामा काठमाडौं, ललितपुर महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ। बन्चरेडाडाँमा ल्याण्डफिल साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिँदा साइट भरिएको छ। बञ्चरे डाँडामा सामान्य अवस्थामा फोहोर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्याण्ड फिल्ड गर्दा कम्तीमा ५० वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन हुन सक्ने मन्त्री मानन्धरले जानकारी दिए।