• २६ पुष २०८१, शुक्रबार

नेपालको वित्तीय पहुँचमा क्रमिक सुधार ; अब ६ स्थानीय तहमा मात्र वाणिज्य बैंकको शाखा पुग्न बाँकि

नेपालले वित्तीय पहुँचमा क्रमिक सुधार गर्दै अगाडि बढिरहेको छ । हाल वाणिज्य बैंकहरुको शाखा ७४७ स्थानीय तहसम्म विस्तार भइसकेकोे छ । देश संघिय संरचनामा प्रवेश गरेसँगै सरकारको नीति र मुलुकको आवश्यक्ता अनुरुप हरेक स्थानीय तहमा वाणिज्य बैंक विस्तार गर्दै वित्तीय पहुँच विकास गर्ने योजना अब करिब करिब सम्पन्न हुने चरणमा देखिएको छ ।
कुल ७५३ स्थानीय तहमध्य २०७७ साउन मसान्तसम्म ७४७ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ । २०७६ साउनसम्म ७३७ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको थियो ।

स्थानीय तहमा वाणिज्य बैंकहरुको उपस्थिति हेर्दा प्रदेश नं २, गण्डकी प्रदेश र प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । त्यस्तै वागमती प्रदेश र सुदुरपश्चिम प्रदेशको २÷२ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकि रहेको छ भने प्रदेश नं १ र कर्णाली प्रदेशका १÷१ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकि रहेको छ । गत वर्षको तुलनामा सबैभन्दा धेरै सुदुरपश्चिम प्रदेशको ४ स्थानीय तहमा शाखा विस्तार भएका छन् ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ साउन मसान्तमा १५३ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, २० विकास बैंक, २१ वित्त कम्पनी, ८४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ साउन मसान्तमा ९८१४ पुगेका छन् ।





प्रतिक्रिया दिनुहोस्