नगरपालिकाले छाडा छाडिएको कुकुरहरुको बन्ध्याकरण शुरु गरेको छ । बजारमा छाडा रुपमा हिड्ने कुकुरलाई कर्मचारी परिचालन गरि नियन्त्रणमा लिइ बन्ध्याकरण गर्ने लक्ष्य लिइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताए । रेबिज रोग, सडक दुर्घटना लगाएत संभावित खतराबाट मानिस र वस्तुभाउलाई जोगाउन भुस्याहा तथा छाडा कुकुर नियन्त्रण अभियान अन्तर्गत बन्ध्याकरण अभियान शुरु गरिएको आयोजकले जनाएको छ ।
भुस्याहा कुकुर समूह बनाएर हिड्ने, मान्छे र चल्ला कुखुरा र गाईबाख्रालाई टोक्दा, रेबिजको खतरा बढ्न थालेपछि सन्तान उत्पादनमा कमी ल्याउन विकल्प खोजेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालीम प्राप्त पशुविज्ञको टोलीको सहयोगमा कुकुरलाई समातेर बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्ध खोप लगाइदिने मेयर पण्डितले जानकारी दिए ।
पछिल्लो समय नगरका विभिन्न स्थानमा कुकुरको टोकाइबाट पीडित भएको गुनासो आइरहेको ले यो अभियान निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको बताएका छन् । रेबिज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरको पहिचान गर्न सजिलो होस् भनेर चित्रसहितका पर्चा र पोस्टर ठाउँठाउँमा राख्न लागिएको जानकारी दिए ।