चिनियाँ मालवाहक गाडीले नेपालसम्म नै सामान ल्याउन थालेका छन् । चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन् । कोरोनाका कारण चिनियाँ गाडीले मितेरी पुल पर नै सामान झारेर फर्कने गरेका थिए । जसका कारण सामान लोड/अनलोड गर्न झन्झट हुने सगै लामो समय लाग्ने भएकाले सामान पनि कम आयात हुँदै आएको थियो ।
रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार आज पाँच वटा चिनियाँ गाडीले नेपालको भूभागमै सामान ल्याएर अनलोड गरेका छन् । यसले सामान आयातमा वृद्धि हुने आशा गरिएको छ । यसअघि दैनिक चार वटा गाडी आउने गरेकोमा आइतबार पाँच वटा आएको हो । अब निरन्तर रूपमा आयात बढ्ने उहाँको भनाइ छ ।
त्यसैगरी रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको चिनियाँ पक्षले पीसीआर परीक्षण सुरु गरेको छ । कोरोना को जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको सात/सात दिनमा पीसीआर परीक्षण गर्नेछ । नेपालले प्रत्येक हप्ता जाँच गर्न नसकिने बताएपछि चीन आफैले परीक्षण गर्न थालेको हो । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामान, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ ।
यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।