
स्वास्थ्य चौकी सञ्चालन समितिको अध्यक्षमा स्थानीय तहभित्र पर्ने स्वास्थ्य चौकी वडाको अध्यक्षतामा रहने कार्यविधि रहेको छ । तर म्यागङ गाउँपालिकाको वडा नम्बर ६ सामरीमा अवस्थित स्वास्थ्य चौकीको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा वडा नम्बर ५ र ६ का वडा अध्यक्ष बिच कुरा नमिल्दा नेतृत्व विहिन अवस्थामा सञ्चालित भैरहेको छ । सुरुवातमा सामरी गाउँ विकास समिति वडा नम्बर १ स्थित सामरीमा उक्त स्वास्थ्य चौकी रहेको थियो । हाल साविकको वडा नम्बर ५ स्थित दमैचौरमा निर्माण गरिएको नयाँ भवनबाट स्वास्थ्य चौकीले सेवा प्रवाह गरिरहेको छ ।
स्वास्थ्य चौकीको सुरुवात जहाँबाट भयो त्यहि वडाको अध्यक्षको नेतृत्वमा समिति बनाउनुपर्ने माग वडा नम्बर ५ का वडा अध्यक्षको भनाइ छ । पहिला जतासुकै भए पनि हाल जताको भूमिबाट सञ्चालन भइरहेको छ त्यताकै नेतृत्वमा स्वास्थ्य चौकीको समिति बन्नुपर्ने वडा नम्बर ६ का वडा अध्यक्ष माग रहेको छ ।
युएसआइडीको आर्थिक सहयोगमा एफएचआई ३६० र सामुदायिक विकास केन्द्र नेपालको साझेदारीमा सञ्चालित रहको उक्त स्वास्थ्य चौकीको अनुगम गर्दा स्वास्थ्य चौकीको समिति नहुदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य सुधारको लागि कुनै एक माग राख्न तथा कुनै गतिविधि गर्नलाई निर्णय तथा कार्यान्वयन गर्नलाई दुई वटै वडाका वडाअध्यक्षहरुलाई सहभागि गराउदै आइरहेको स्वास्थ्य चौकीका इन्चार्ज बताउनुभएको छ ।
स्वास्थ्य चौकीको व्यवस्थापन समिति नहुदा आर्थिक कारोवारको लागि समेत गाउँपालिकाकै भर पर्नुपर्ने अवस्था रहेको उहाँको गुनासो रहेको छ । बर्थिङ सेन्टर, ल्याव सहितको सुविधा रहेको स्वास्थ्य चौकीमा नागरिकले निशुल्क प्राप्त गर्न सक्ने ३५ प्रकारको औषधी मध्ये ८० प्रतिशत उपलव्धता रहेको र सेवा प्रवाह समेत सन्तोषजनक पाइएको छ । नागरिकले निशुल्क पाउने औषधी र प्रदान गरिदै आएको सेवा समेटिएको नागरिक वडा पत्र साथै सुझाव पेटिका समेत स्वास्थ्य चौकीमा नभएकोले त्यसको तत्काल व्यवस्थापन गर्न अनुगमन टोलीले आग्रह समेत गरेको छ ।