जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि सहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।
चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढिरहेको बेला अधिकांशले मास्क बिना हिड्डुल गर्ने र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा जोखिम बढीरहेको छ ।
प्रयोग गरी फालिएको मास्कमा थुक, र्याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई सङ्क्रमण हुनसक्ने चिकित्सकहरूको भनाइ छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लाबासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् ।