बाग्मती प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२९ पुगेको छ। पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।
यस्तै बाग्मती प्रदेशमा ४६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १६६ जना आईसीयूमा छन्। काठमाडौं उपत्यकामा मात्र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
बाग्मती प्रदेशमा आजसम्म ६४ हजार ९९६ जनामा कोरोना संक्रमण भएको छ। देशभर कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ रहेको स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बाग्मती प्रदेशमा ४० हजार २४४ जना कोरोनामुक्त भएका छन् भने २४ हजार ४२३ सक्रिय संक्रमित छन्। देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ छ। बाग्मतीमा सबैभन्दा बढी काठमाडौंमा ४४ हजार ७७० जनामा कोरोना भाइरस संक्रमण भएको छ भने सबैभन्दा कम रसुवामा ३२ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।