जिल्ला ट्राफिक कार्यालय नुवाकोटले बट्टार बजार र बेलकोगढी नगरपालिकाको कोल्पुटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतलाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले बताए ।
विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो । भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा यात्रु सहायता कक्षले सहयोग गर्ने विष्टले बताउनु भयो । आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्ने जानकारी दिनुभयो ।