स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार देशभरका सङ्क्रमित जिल्लाहरुको आधारमा नुवाकोट ३६ औं स्थानमा रहेको छ । दुई महिनामा अघिमात्र ५५ औं रहेको थियो । महामारी कोरोनाभाइरसका कारण देशभर सक्रिय संक्रमितको संख्या २८ हजार एक सय ६ रहेको छ भने नुवाकोटमा सात सय ५० रहेको छ ।
सङ्क्रमितको तथ्यांकअनुसार बागमती प्रदेशका जिल्लाहरुमा नुवाकोट ८ औं स्थानमा रहेको छ । पहिलोमा काठमाडौं र अन्तिममा रसुवा जिल्ला रहेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेका अनुसार ७ हजार २ सय २ जनाको परीक्षण गरिएकोमा ६ हजार ४ सय ५२ जनाको नतिजा निगेटिभ आएको छ ।
जिल्लामा कोरोनाको कारण एक जना महिलाले ज्यान गुमाएका छन् । नुवाकोटमा पछिल्लो २४ घन्टामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार ७५ जना निको भएका छन । कोरोना भाइरसका कारण जिल्लामा अहिले अस्पतालमा ३ जना, स्थानीय तहले निर्माण गरको आईसोलेसन सेन्टरमा १ जना र होम आईसोलेसन २ सय ६६ जना गरि कुल २ सय ७० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनु भयो ।
उहाँका अनुसार अहिलेसम्म जिल्लाका २ नगरपालिकामा ४ सय ९८ जना र १० गाउँपालिकामा ३ सय १६ जनामा सङ्क्रमण भएको छ । जसमा विदुर नगरपालिकाका ४ सय ३३ र बेलकोटगढी नगरपालिकाका ६५ जना सङ्क्रमित भएका छन्। यस्तै,गाउपालिकाहरुमा सुर्यगढी ५३, तारकेश्वर ३१, शिवपुरी २९, तादी २८, दुप्चेश्वर २६, ककनी २५, किस्पाङ २१, लिखु १६, पञ्चकन्या १६ र म्यागङमा ६ जना सङ्क्रमित भएका छन् । जिल्लामै अन्य जिल्लाका एक जना नागरिकको कोरोना परीक्षण गरिएकोमा संक्रमण भएको तथ्यांक रहेको छ ।